हाम्रोबारे

स्वास्थ्यलाई संविधानले मौलिक हकका रूपमा स्थापित गरेको छ । संविधानको धारा ३५ मा आधारभूत स्वास्थ्य सेवा निःशुल्क हुने, स्वास्थ्योपचारका सन्दर्भमा नागरिकले जानकारी पाउने, आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगरिनेजस्ता हक सुनिश्चित गरिएका छन् । त्यस्तै, स्वास्थ्यसँग जोडिएका पोषण, खाद्य गुणस्तर, पानीको गुणस्तर, स्वच्छ वातावरण र सुरक्षित आवासलाई पनि नागरिकको मौलिक अधिकारका रूपमा सूचीकृत गरिएको छ ।

स्वास्थ्यको अधिकार केवल स्वस्थ रहनु, रोग नलाग्नु वा बिसन्चो नहुनु मात्र होइन, बरु शारीरिक, मानसिक तथा सामाजिक रूपमा राम्रो अवस्था हो भन्ने मान्यतालाई संविधानले पहिलोपटक स्पष्टसँग लिपिबद्ध गरेको छ । स्वास्थ्यको अधिकार सुनिश्चित हुन खाद्य र पोषण, आवास, स्वच्छ पिउनेपानी तथा उचित सरसफाइ, स्वस्थ र सुरक्षित कार्यस्थल एवं स्वस्थकर वातावरण हुनु पनि उत्तिकै आवश्यक छ ।

संविधानले मौलिक हक कार्यान्वयनका लागि आवश्यक कानुन बनाउन आगामी असोज ३ गतेसम्मको समयसीमा तोकेको छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा तीन तहको अधिकार सूची संविधानको अनुसूचीमा उल्लेख छ र आधारभूत स्वास्थ्यको अधिकार स्थानीय तहको अधिकार क्षेत्रभित्र राखी स्वास्थ्यलाई तीनवटै सरकारको अधिकारका रूपमा लिपिबद्ध गरिएको छ । संविधानको व्यवस्था कार्यान्वयनसम्बन्धी कानुन निर्माणकै क्रममा रहेकाले धेरै विषयहरू क्रमशः स्पष्ट हुँदै जालान् । तर, केही विषय भने अहिले नै स्पष्ट भइसकेका छन् । नेपालमा स्वास्थ्य सेवाका सन्दर्भमा आमनागरिकको पहुँच पुर्याउन अझै धेरै गर्न बाँकी छ । स्वस्थ जीवनयापनका लागि व्यक्तिमा जागरुकता हुनु जति महत्वपूर्ण छ, त्यति नै सेवामा गुणस्तरको पनि छ । यी दुवै पक्षमा राज्य प्रवेश नै गरेको छैन भन्दा अन्यथा नहोला ।

संविधानले आधारभूत स्वास्थ्य सेवा निःशुल्क भनिरहँदा आमनागरिकले अहिले पनि स्वास्थ्य सेवामा हुने खर्चको झन्डै ५६ प्रतिशत खर्च खल्तीबाटै बेहोर्नुपरिरहेको छ । यी विषयहरूले के देखाउँछन् भने स्वास्थ्य सेवाको सन्दर्भमा अझै हामीले थुप्रै बहस–पैरवी, अभियान, खबरदारी गर्न बाँकी छ । बलियो स्वास्थ्य प्रणालीविना नागरिक स्वस्थ बन्दैनन् र स्वस्थ नागरिकविना स्वस्थ र समृद्ध समाज बनाउने सपना पूरा हुनै सक्दैन । यी तथ्य र सन्दर्भलाई हृदयंगम गरेर हामी बलियो जनस्वास्थ्य प्रणाली निर्माणमा खबरदारी गर्दै जनस्वास्थ्यको पहरेदारी गर्ने एउटा सानो जमर्को गर्दै छौँ ।

पछिल्ला दिनमा लोकप्रिय बन्दै गएको अनलाइनमार्फत हामी बहस–पैरवीको यात्रामा होमिँदै छौँ । हाम्रो बुझाइमा जनताका आवश्यकतालाई राज्यका नीति र कार्यक्रममा प्रतिविम्बित गर्न र ती विषयमा नागरिकलाई जागरुक बनाउन सञ्चारभन्दा सहज र सशक्त अर्को माध्यम छैन । त्यही तथ्यबोध गरेर स्वास्थ्य सञ्चार प्रालिको प्रकाशनमा हामी ‘हेल्थपोस्टनेपालडटकम’ अनलाइनमार्फत नेपाली र अंग्रेजी दुवै भाषाको माध्यमबाट तपाईं पाठकसमक्ष जोडिँदै छौँ । स्वास्थ्यसम्बन्धी आमनागरिकका जिज्ञासा, समस्या, आवश्यकता र तिनको समाधान नै हाम्रा प्राथमिकता हुन् । सूचना, शिक्षा र जानकारीवर्धक सामग्रीमार्फत हामी तपाईंको स्वास्थ्यसम्बन्धी चासोको हरसम्भव हल खोज्न निरन्तर प्रयत्नशील रहने प्रण गर्दछौँ ।
‘सरकारलाई खबरदारी, जनतालाई जानकारी’ नै हाम्रो मूल मन्त्र हो । स्वास्थ्य सेवामा सहज पहुँच, स्वस्थ जीवनशैली निर्माणदेखि पहुँचमा रहेको स्वास्थ्य सेवाको गुणस्तरमा ग्यारेन्टी गर्न सक्ने अवस्था निर्माणमा सञ्चारमाध्यमबाट लागिरहनु हाम्रो पहिलो धर्म हुनेछ ।

स्वास्थ्यलाई ‘पोलिसी र पोलिटिक्स’को केन्द्रविन्दुमा राख्ने अवस्था सिर्जनाका लागि निरन्तर बहसलाई अगाडि बढाउनु हामीले कर्तव्य सम्झेका छौँ । पत्रकारिताका मूल्य, मान्यता, आदर्श र सिद्धान्तमा हामी कतै पनि, कत्ति पनि विचलित हुनेछैनौँ ।

स्वास्थ्य सेवाको पहुँच र गुणस्तरमाथिको निरन्तर खबरदारीले सरकारलाई नियमन र गुणस्तर सुनिश्चित गर्न दबाब पुग्ने मात्र नभई सेवाप्रदायकलाई समेत त्यसप्रतिको तत्परता बढाउँदै लानेछ, जनतालाई जागरुक बनाउनेछ, अनि प्रणालीलाई बलियो बनाउनेछ । जनस्वास्थ्य प्रणालीलाई बलियो बनाउन स्वास्थ्य क्षेत्रमा हुने दलगत हस्तक्षेपविरुद्ध हामी निरन्तर आवाज उठाइरहनेछौँ ।
पछिल्ला दिनमा चिकित्सा सेवाप्रदायक र सेवाग्राहीबीच विश्वासमा संकट देखापरेको छ । यी दुईबीचको दूरी घटेर विश्वास नबढ्दासम्म स्वास्थ्य सेवा प्रभावकारी हुनै सक्दैन । यसका लागि मिडियाले निर्वाह गर्न सक्ने माध्यमको भूमिकामा हामी लागिरहनेछौँ । स्वास्थ्य सेवाको समग्र गुणस्तर उत्पादित जनशक्तिमा निर्भर हुन्छ । त्यसका लागि चिकित्सा शिक्षामा सुधार गर्नु भनेको मुहान नै सफा गर्नु हो । यो विषय हाम्रो प्राथमिकतामा छ ।

समग्रमा हाम्रो अभियान वा उपस्थिति आमनागरिकमा स्वास्थ्य चेतना अभिवृद्धिका लागि हो । अझै पनि नीतिनिर्माताले स्वास्थ्यको विषय स्वास्थ्य मन्त्रालयको मात्र जिम्मेवारी क्षेत्र वा दायित्व हो भन्ने रूपमा बुझेको अभास हुन्छ । तीबाहेक धेरै मन्त्रालय वा स्थानीय सरकारका जिम्मेवारीभित्रका वातावरण, खानेपानी, कृषि, सरसफाइ, सडक, खाद्यान्नका विषयले स्वस्थ्यमा ठूलो प्रभाव पारिरहेका छन् । यी विषय मृत्यु र बिरामीका कारक हुन् जसबारे हामी कम चासो राख्ने गर्छौं । यी सबैको केन्द्रमा स्वास्थ्यलाई नराख्दासम्म स्वस्थ समाजको कल्पना कोरा मात्रै बन्छ ।

स्वास्थ्यलाई ‘पोलिसी र पोलिटिक्स’को केन्द्रविन्दुमा राख्ने अवस्था सिर्जनाका लागि निरन्तर बहसलाई अगाडि बढाउनु हामीले कर्तव्य सम्झेका छौँ । पत्रकारिताका मूल्य, मान्यता, आदर्श र सिद्धान्तमा हामी कतै पनि, कत्ति पनि विचलित हुनेछैनौँ । कुनै पनि सर्तमा विकृति, विसंगतिप्रति हामी न आँखा चिम्लिन्छौँ न मौन बस्छौँ । यो यात्रामा लम्किरहँदा राज्यको कानुन, नीति, नियम, पत्रकारिताधर्म तथा आचारसंहिताको परिपालनमा रत्तिभर विचलित हुनेछैनौँ । यो हाम्रो संकल्प हुनेछ ।
अहिलेको सन्दर्भमा स्वास्थ्य क्षेत्रमा मिडियाकै अभाव छ भन्ने हामीलाई लागेको छैन । तर, हाम्रो उपस्थितिलाई कसरी पृथक् र सार्थक बनाउने भन्ने चुनौती हाम्रा सामु छ । निश्चय नै सत्मार्गको यात्रा उकालो छ, बाटो अप्ठ्यारो छ, तर त्यही यात्राबाट पुगिने गन्तव्य नै सुखद हुन्छ भन्ने हाम्रो विश्वास हो । यो यात्रा तपाईं पाठक, जनप्रतिनिधि, प्रशासक, चिकित्सक, स्वास्थ्यकर्मी, विज्ञापनदाता, नीतिनिर्माता र आमसरोकारवालाको सार्थक सहयोगविना सम्भव हुँदैन । यी र यस्ता अनेक सन्दर्भमा हामी तपाईंहरूबाट निरन्तर सहयोगको अपेक्षा गर्दछौँ ।

हामीप्रति सदाशय मात्र होइन, सत्मार्गको यात्रामा हामीलाई थकानको आभास हुँदा खबरदारी गर्ने, ऊर्जा भर्ने, अनि उत्प्रेरित गर्ने कर्तव्य पनि तपाईं पाठकहरूकै हो ।
धन्यवाद !

  • ताजा समाचार
  • जनप्रिय